काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिसाब हुनुपर्छ ।’
प्रधानमन्त्रीले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरूमा समेत हामीलाई कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रुपमा गरिनु पर्ने धारणा राखे ।
आवश्यकता आँकलन नगरी जनशक्ति उत्पादन गर्दा कही नपुग्ने त कही उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्थासम्म आउने भनाई उनको थियो ।
चिकित्सा शिक्षा आयोगको दुई वर्ष व्यस्त रहेपनि उपलब्धिका हिसाबले सन्तुष्ट हुने स्थिति नरहेको प्रधानमन्त्रीले बताए । ‘नकारात्मक सोचका साथ नियम बनाउने र व्याख्यामा थप नकारात्मक ढंगले जाने कामले उल्झन मात्र सृजना गर्छ,’ उनले भने ।
कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भरपर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।