बैतडी - बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।
घटनाको विवरण पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बसमा सवार ४५ जनामध्ये ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतकहरूको नामावली:
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश बझाङका बासिन्दा रहेका छन्: १. केशवराज जोशी (४०) – बित्थडचिर-७, बझाङ २. अशोकराज जोशी (१३) – बित्थडचिर-७, बझाङ ३. वसन्त जोशी (३५) – बित्थडचिर-७, बझाङ ४. विष्णुदत्त जोशी (४१) – बित्थडचिर-७, बझाङ ५. नरेन्द्रराज जोशी (४२) – बित्थडचिर-७, बझाङ ६. विर्खराज जोशी – बित्थडचिर-७, बझाङ (उपचारका लागि लैजाँदै गर्दा मृत्यु) ७. मोहनदेव भट्ट (६०) – केदारस्युँ गाउँपालिका, बझाङ ८. वसन्तराज रतला (४०) – जयपृथ्वी नगरपालिका-७, बझाङ ९. पुष्पा अवस्थी (४०) – पुर्चौडी नगरपालिका-७, बैतडी
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । घाइते ४४ जनालाई उद्धार गरी सुरुमा कोटीला स्वास्थ्य चौकी पुर्याइएको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि स्कुल बसमार्फत डडेल्धुरा अस्पताल पठाइएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका डीएसपी जंगबहादुर कुँवरले जानकारी दिए ।
एक बालक बेपत्ता दुर्घटनामा परेका एक बालक अझै फेला परेका छैनन् । बस भिरमा खसेकाले र खोँचमा अड्किएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।