काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् । राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याउँदै उनले अब नयाँ बनाउन आँट गर्नुपर्ने बताएका हुान् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीट गर्दै समस्या एकातिर तर, समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरे । ‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु !’
उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताउँदै अगाडि भने, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’