प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे ।
उनले आफू काठमाडौँ फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए। विपद् ढोल बजाएर नआउने भएको तर अचानक आइदिएका कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि केही न केही छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले जानकारी गराए ।