×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७१३ तहको यस्तो छ नतिजा, कहाँ छ बाँकी ?

७१३ तहको यस्तो छ नतिजा, कहाँ छ बाँकी ?

काठमाडौं- आइतबार अपराह्नसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। जसमा उसले प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको छ।

०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। त्यसैगरी, ९५ उपप्रमुख १२२ उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। उसले २४ मा मेयर ९६ मा अध्यक्ष तथा ३२ उपप्रमुख र ९५ उपाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ।

अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५७ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्। बाँकी ४० तहमध्ये एमाले १४, कांग्रेस-१०, माओवादी र एकीकृत समाजवादी २-२ स्थानमा र अन्यले १० स्थानमा अग्रता कायम राखेका छन्।

दुई स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार अझै ४० स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ। जसमा पाँच महानगरपालिका पनि समावेश छ। हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ।

विराटनगरमा भने नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। यस्तै, काठमाडौं स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा हुँदा, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य, चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तथा वीरगन्जमा जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन्।

निर्वाचन आयोगका अनुसार अब झापाको अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिकाको मतगणना सकिन बाँकी छ। यस्तै मेचीनगर, शिवसताक्षी नगरपालिकाको पनि मत परिणाम आउन बाँकी छ। मोङको रंगेली नगरपालिका, सुन्दरहरैँचाका साथै उदयपुरको कटारी र त्रियुगा नगरपालिकाको पनि मतपरिणाम आउन बाँकी छ।

मधेस प्रदेशका गोलबजार नगरपालिका, भगवानपुर गाउँपालिका, रुपनी गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, बरहथवा नगरपालिका, गढीमाई नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधिमाई नगरपालिका, यमुनामाई नगरपालिका, वृन्दावन नगरपालिका, वीरगन्ज महानगरपालिका, पचरौता नगरपालिकामा पनि मतपरिणाम आउन बाँकी छ।

यसैगरी गण्डकी प्रदेशको व्यास नगरपालिका, पोखरा महानगरपालिकाका साथै लुम्बिनी प्रदेशको कोटहीमाई गाउँपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, महाराजगञ्ज नगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, कोहलपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।

यस्तै, सुदूरपश्चिमको साँफेबगर नगरपालिका, बुढीगंगा नगरपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिकासमेतको मतपरिणाम आउन बाँकी छ। यीमध्ये केही स्थानमा उम्मेदवारको जित निश्चित भए पनि अन्तिम घोषणा भइसकेको छैन। वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु भएको थियो। निर्वाचन आयोगले जेठ ५ गतेभित्रै मतगणना सक्ने लक्ष्य लिए पनि अन्तिम परिणाम आउन ढिलाइ भएको हो।

प्रतिकृया दिनुहोस्