काठमाडौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर खेलमा पन्जाब किङ्ग्सलाई ८ विकेटले पराजित गर्दै आरसीबीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पन्जाबले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य आरसीबीले १० ओभरमा केवल २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो। आरसीबीको जितमा ओपनर फिल साल्टले अविजित रहँदै महत्वपूर्ण ५६ रनको योगदान दिए। पन्जाबका लागि केल जेमिसन र मुसिर खानले एक-एक विकेट लिए।
यसअघि, न्यू चण्डीगढस्थित महाराज यदविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब किङ्ग्सले निर्धारित ओभर खेल्नुअघि नै आफ्ना सबै विकेट गुमाएर १०१ रनमा समेटिएको थियो। पन्जाबका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। आरसीबीका बलर सुयश शर्मा र जोश हेजलउडले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट हात पारे।
यो हारसँगै पन्जाब किङ्ग्सले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आज (बिहीबार) हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन्।