×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ मा हुने

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ मा हुने

विराटनगर- नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन मोरङको विराटचोकमा हुने भएको छ। आगामी मंसिर २५ गते मोरङको विराटचोकमा सम्मेलन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। सम्मेलनमा एक हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयम्‌सेवक गरी १५ सयको सहभागिता हुने नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राईले जानकारी दिए । सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य सङ्ख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेकोले साेही अनुसारको सहभागिता रहने उनले बताए ।  पालिका अधिवेशनबाट स्थानीय तहबाट न्यूनतम ३ जना पर्ने गरी प्रति ५ सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको राईको भनाई छ।

सम्मेलनमा आयोजक समितिका ९७ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्नेछन् ।

सम्मेलनमा केन्द्रीय सदस्यहरू २० जना, केन्द्रीय सल्लाहकारहरू १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रूपमा सहभागी हुने  नेकपा माओवादी प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिए । अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द सत्र सुरु हुनेछ  र नेतृत्व चयनको काम त्यसपछि हुने भण्डारीले बताए । नेकपा माओवादी केन्द्रको सम्मेलनले प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको बनाउने छ । प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।

प्रतिकृया दिनुहोस्