×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सात महिनापछि १५० रुपैयाँभन्दा तल झऱ्यो अमेरिकी डलरको भाउ

सात महिनापछि १५० रुपैयाँभन्दा तल झऱ्यो अमेरिकी डलरको भाउ

काठमाडौँ। नेपाली बजारमा अमेरिकी डलरको मूल्य सात महिनापछि १५० रुपैयाँको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा र खरिददर १४९ रुपैयाँ २१ पैसा कायम भएको छ।

यसअघि गत वैशाख ९ गते (२२ अप्रिल) डलरको बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा रहेको थियो। त्यसको भोलिपल्ट वैशाख १० गते डलरको बिक्रीदर १५० रुपैयाँ ३८ पैसा पुगेयता निरन्तर १५० रुपैयाँभन्दा माथि कारोबार भइरहेको थियो। सात महिनाअघिको तुलनामा बिहीबार डलरको बिक्रीदर १० पैसा कम भएको हो।

अघिल्लो दिन बुधबार एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा रहेको थियो। एकै दिनमा डलरको खरिद तथा बिक्रीदर दुवैमा पाँच–पाँच पैसाको गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

अर्थविद्हरूका अनुसार डलरको मूल्य घट्दा विदेशबाट वस्तु आयात गर्ने आयातकर्ता, वैदेशिक ऋण तिर्नुपर्ने सरकार तथा विदेशमा अध्ययन र भ्रमणका लागि भुक्तानी गर्नुपर्ने नेपालीहरूलाई प्रत्यक्ष राहत पुग्नेछ। यद्यपि, विदेशबाट डलरमा रेमिटेन्स पठाउने नेपाली श्रमिक र निर्यातकर्ताले पाउने नेपाली रुपैयाँको मूल्यमा भने केही कमी आउनेछ।

प्रतिकृया दिनुहोस्