काठमाडौं - दसैँको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा चारदिने ‘चङ्गा चेट’ उत्सव सुरु भएको छ। उत्सवको पहिलो दिन स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी पाहुनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
अक्टोबर १४ देखि १७ (असोज २८ देखि ३१) सम्म सञ्चालन हुने उत्सवमा चङ्गा उडान, लाइभ म्युजिक, स्ट्यान्डअप कमेडी, पोटरी, फेस पेन्टिङ तथा विभिन्न परिकारका फुड स्टल मुख्य आकर्षण रहेका छन्।
उत्सवमा पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, नगरकोट–नाल्दुम पर्यटन विकास समितिका प्रतिनिधि, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।
माउन्टेन भिस्टा रिट्रीटका अध्यक्ष अर्जुन सिंह ठकुरीले दसैँमा चङ्गा उडाउने परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै नगरकोटलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ चिनाउने उद्देश्यले उत्सव आयोजना गरिएको बताए।
“नगरकोटको प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र मनोरञ्जनलाई जोडेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ स्थापित गर्नु हाम्रो प्रयास हो,” उनले भने।
आयोजकका अनुसार नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि हुँदै आएका चङ्गा उडाउने कार्यक्रमको निरन्तरताका रूपमा ‘चङ्गा चेट’ आयोजना गरिएको हो। उत्सवले नेपाली चाडपर्वको मौलिकता संरक्षण गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
असोज ३१ गतेसम्म सञ्चालन हुने उत्सवमा आगामी दिनमा पनि चङ्गा उडान, सांगीतिक प्रस्तुति, खानपान तथा मनोरञ्जनात्मक गतिविधि जारी रहनेछन्।
‘यसपालिको दसैँ, आकाशमा चङ्गा, मनमा उमङ्ग!’ नारासहित आयोजित उत्सवमा आयोजकले परिवार तथा साथीभाइसँग दसैँको खुसी साट्न चाहने सबैलाई सहभागी हुन आमन्त्रण गरेको छ।