काठमाडौं - नेपालको घरेलु मैदानमा आयोजना भइरहेको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले बुधबार (आज) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसियाबिच १२:३० मा खेल सुरु हुने छ।
सिरिजमा दुबै टोलीले आफ्नो सुरुवाती खेल जितेकाले पनि नेपाल र मलेसियाबिचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ। दुबै टोलिले सिरिजको अर्को सहभागि टीम पपुवा न्युगिनी (पीएनजी) माथि उच्च स्कोर बनाउँदै जित निकालेका थिए।
नेपाल र मलेसिया चिरपरिचित प्रतिद्वन्दिका रुपमा रहेपनि नेपाल मलेसियामाथि हावि हुँदै आएको छ। मलेसियासँग भएका ६ टी-२० खेलमा नेपालले ५ खेलमा जित निकाल्दा मलेसियाले एक खेलमा नेपाललाई हराएको छ।
पहिलो पटक सन् २०१९ मा नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगिता अघि जुलाईमा मलेसियासँग दुई खेलको सिरिज खेलेको थियो। जसमा नेपालले दुबै खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप गरेको थियो।
त्यस्तै आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो। सन् २०२० को एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगितामा भने नेपाल पहिलो पटक मलेसियासँग पराजित हुन पुग्यो।