काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
शृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल तेस्रो जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यसअघिका खेलहरूमा नेपालले स्कटल्यान्डलाई एक विकेट र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। यद्यपि, आफ्नो पछिल्लो खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनको झिनो अन्तरले पराजित हुन पुगेको थियो।
अर्कोतर्फ, शृंखलामा जितविहीन रहेको नेदरल्यान्ड्स आज पहिलो जितको खोजीमा हुनेछ। नेदरल्यान्ड्स आफ्नो अघिल्लो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो।
अंक तालिकामा नेपाल १५ खेलबाट १० अंकसहित सातौं स्थानमा छ भने २२ खेल खेलेको नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा बलियो स्थितिमा छ।
सन् २०२७ सम्म चल्ने लिग-२ मा कुल आठ टोली सहभागी छन्। लिगको अन्त्यमा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछन् भने पुछारका चार टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने प्रावधान छ।
नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी।