×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब फोहोर नछुट्याए घरमै फिर्तादेखि जरिवानासम्म

अब फोहोर नछुट्याए घरमै फिर्तादेखि जरिवानासम्म

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेको छ । कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने तयारी गरेको महानगरले यस्तो आग्रह गरेको हो । 

सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनकाअनुसार अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको छ ।

महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ । ‘फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ,’ उनले भने, ‘अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने महानगरको विश्वास छ । छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउनेछ । फोहोर वर्गीकरण नगरी फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति पाँचसय रुपैयाँ जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ ।

उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पुर्‍याउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्