काठमाडौँ - यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिलेसम्म बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएकाले मनसुन औसत समयभन्दा केही ढिलो गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो।
मनसुन लम्बिए पनि निष्क्रिय रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने भन्ने गरिए पनि यसपालिदेखि परिमार्जन गर्दै जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने समय तोकिएको छ ।
हरेक १०, १० वर्षमा मनसुनको समय परिमार्जन गर्ने गरिएको छ । अक्टोबर २ तारिख आउन अब तीन दिन मात्रै बाँकी छ । तर, मनसुनी गतिविधि भने कायमै छ । अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । झापा र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा केही दक्षिणतिर रहेकोले त्यस क्षेत्रमा पानी परेको हो ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।