×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

शीर्ष चार दल महाधिवेशनमा, को सर्वसम्मत ? को निर्वाचनमा ?

शीर्ष चार दल महाधिवेशनमा, को सर्वसम्मत ? को निर्वाचनमा ?

राष्ट्रिय राजनीतिका शीर्ष चार दल हाल महाधिवेशनमा होमिएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा, नेकपा एमाले १० औं महाधिवेशनमा, राप्रपा एकता महाधिवेशनमा र माओवादी केन्द्रको पनि महाधिवेशन सुरु भएको छ । दलहरूको महाधिवेशन दौडधुपले सरकारको काममा पनि ढिलाई आएको सर्वसाधारणले आङ्कलन गरेका छन् । हाल दलहरूमा कुन पार्टीले कसरि महाधिवेशन गर्छन् भनेर प्रतिस्पर्धा नै भएको देखिएको छ । कुन पार्टीमा सर्वसम्मत र कुन पार्टीमा विवाद र निर्वाचन जस्ता कुराहरूको हिसाब किताब आम–नागरिकले गर्न निकाल्न थालेका छन् ।

१. नेपाली कांग्रेस

महाधिवेशनको मिति तोक्दै सार्दै आएको नेपाली नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २७ देखि पुस १ गते सम्म काठमाडौँमा गर्ने भएको छ । हाल नेताहरू गुट उपगुटमा विभाजन भएर साझा उम्मेदवार बनाउने दौडधुपमा लागेका छन् । वडा तहको अधिवेशनमा नै संस्थापन पक्षले धाँधली गरेको भनेर आलोचनाहरू आइरहेको छ । संस्थापन पक्षले भने सबै ठाउँमा सहमतमा निर्णय भैरहेको दावी गरेको छ । यसरी कांग्रेसमा पदाधिकारीको प्रतिनिधि छनोटमा सर्वसमत हुने कुनै सङ्केत छैन । पार्टीका शीर्ष नेताहरूले र नयाँ युवा अनुहारहरूले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा फेरि नेतृत्वमा दोहोरिने सम्भावना पनि कायमै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले साझा उम्मेदवारी दिन नसके देउवाले बाजी मार्ने प्राय निश्चित देखिन्छ । उपसभापति विमलेन्द्र निधिले र कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ्ग पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको नेतृत्वमा नयाँ विचार र युवा नेतृत्व आउन पर्छ भन्ने आवाज पनि चर्किएको छ ।

२. नेकपा एमाले

नेपाल कम्युनिस्ट पार्टी एमाले वि.स. २००६ सालमा स्थापना भएको पार्टी हो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले एमालेको स्थापना गरेका थियो । हाल पार्टीमा ८ लाख ३८ हजार सदस्य रहेको एमाले शीर्ष नेता शेरबहादुर तामाङले अनलाइनपानालाई जानकारी दिए ।

नेकपा एमालेको हाल १० औँ महाधिवेशनको अन्तिम चरणको तयारी भइरहेको नेता तामाङले जानकारी दिए । महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुने भएको छ । महाधिवेशनमा ५ लाख जनतालाई पनि समावेश गरेर एमालेभित्र कार्यकर्ता मात्र नरहेर जनतामा पनि साथमा छन् भन्ने सन्देश दिने तयारी छ । एमालले विधान महाधिवेशन भने गत असोज १५, १६ र १७ गते ललितपुरको गोदावरीमा सम्पन्न गरिसकेको हुनाले यो महाधिवेशनमा नेतृत्व छनोट मात्र हुने भएको छ । एमालले चितवनमा महाधिवेशको तयारी लगभग सकिन लागेको जानकारी दिइएको छ ।

९८ प्रतिशत सर्वसहमतिमा छनोट

एमालेको प्रतिनिधि छनोटको काम सकिएको छ । ९८ प्रतिशत प्रतिनिधिहरू सर्वसहमति छनोट हुने र २ प्रतिशत भने निर्वाचनबाट छनोट हुने नेता तामाङले जानकारी दिए । एमालेमा पदाधिकारीहरू पनि सर्वसम्मत चयन हुने अत्याधिक सम्भावना देखिएको छ । पार्टीका सबै नेताहरूलाई सम्मानजनक स्थानमा राखेर पार्टी गुटरहित भएको देखाउने रफ्तारमा एमाले लागेको छ । तर केन्द्रीय कमिटको अध्यक्षमा भने केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दिने भएका छन् ।

३. नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले गएको शनिवारदेखि अधिवेशन सुरु गरेको छ । केही वडा बाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ । कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दै छ । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने बताएको छ । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने लगभग पक्का छ ।

४. राप्रपा

राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाको एकता महाधिवेशन हुँदैछ । राप्रपाले आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौँको भृकुटी मण्डपमा महाधिवेशन गर्न लागेको हो । राप्रपाले हालसम्म प्रदेश अधिवेशन पनि गरिसकेको छ । २०४७ सालमा स्थापना भएको पार्टी राप्रपामा हाल ५२ हजार सक्रिय सदस्य रहेको नेता अमिर राणाले जानकारी दिए ।

राप्रपाको तल्लो तहदेखि नै केही ठाउँमा सर्वसम्मत र केही ठाउँमा निर्वाचनबाट प्रतिनिधि छनोट हुँदै आएको छ । अध्यक्षको उम्मेदवारमा क–कसले उम्मेदवारी दिने भनेर आङ्कलन गर्न नसकिने अवस्था छ ।

प्रतिकृया दिनुहोस्