काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा पार्टीले ९ लाख मत ल्याएको दाबी गरेका छन् । काठमडौं प्रज्ञाभवनमा प्रथम केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरे ।
‘हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए हामीले २० लाख मत ल्याउने थियौं ।’
अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । चुनावको तयारी गर्नुपर्नेछ । अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो’, उनले भने ।
उनले सबै ठाउँमा जिम्मेवारी दिँदा पालिका वडामा पनि कार्यकर्ता खटाउनुपर्ने बताए । ‘टोल टोलमा कमिटी बनाएर खटाउनुपर्छ । भोलि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक चाहिन्छ । समानुपातिक मत बनाउन सक्यौं भने सीट संख्या बढाउन सकिन्छ’, नेपालले भने ।