काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका ७७ वटै जिल्लाका ७५३ वटै पालिकाहरूमा केन्द्रीय नेता, सांसद तथा पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको छ। असोज २० देखि २७ गतेसम्म एक साताका लागि चल्ने यस राष्ट्रव्यापी अभियानका लागि रास्वपाले जिल्लागत जिम्मेवारी तोकेको छ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यस अभियानका मुख्य दुई उद्देश्य रहेका छन्- पहिलो, स्थानीय सरकारलाई अझ जवाफदेही बनाउन उम्मेदवार छनोटको पारदर्शी लोकतान्त्रिक विधि नागरिकलाई बुझाउने; र दोस्रो, वर्तमान सरकार गठन भएको ६ महिनामा संसद् तथा सरकारमार्फत भएका नीतिगत पहल, सार्वजनिक वाचाको प्रगति र आगामी योजनाहरूबारे पारदर्शी जानकारी गराउने। केवल नागरिकका कुरा सुन्ने मात्र नभई पार्टीको काम र भिजनसमेत सुनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको यस अभियानलाई रास्वपाले सङ्गठन विस्तार र नागरिक सहभागिताको महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा अघि बढाएको छ।