काठमाडौँ - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आज (असोज १८) देखि काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा सुरू हुँदै छ। असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुने कार्यक्रम रहेको छ।
उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', र रास्वपाका सभापति रवि लामिछानेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।
यसपटक प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले गरी कुल ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदै छन्। महाधिवेशनस्थल खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको ५ वटा स्टल रहने हेल्थ डेस्क, अन-कल ड्युटी, दुई वटा एम्बुलेन्स तथा वीर, ट्रमा सेन्टर र वीपी स्मृति अस्पतालसँग आकस्मिक उपचारको समन्वय गरिएको छ। प्रचारप्रसारमा तडकभडक नगर्ने र वातावरणमैत्री प्रविधि अपनाउन निर्देशन दिएको कांग्रेसले महाधिवेशनस्थल वरपर धरहरा अन्डरग्राउन्ड, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, अन्नपूर्ण होटलसहित ८ स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। असोज २१ र २२ गते कागजी मतपत्रमार्फत हुने निर्वाचनबाट २३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ।