टोकियो । जापानमा आयोजना हुने दोस्रो मोना ईताबासी नेपाल फेस्टिबल–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आगामी अप्रिल ११ र १२ तारिखमा आयोजना हुने दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिबलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
फेस्टिबलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ । फेस्टिबलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ। दुई दिने फेस्टिबलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संयोजक कार्कीले बताए ।
फेस्टिबलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्कालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिबल खड्का, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की र नेपाल पत्रकार महासंघ जापानका सचिव अर्जुन लामिछानेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता तथा महासचिव सुरेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।