काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार जोडिएका विवादास्पद समाचार, श्रव्यसामग्री (अडियो) र सार्वजनिक प्रश्नहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्य द्वारा जारी विज्ञप्तिअनुसार सत्यतथ्य अन्वेषणका लागि केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकिएको छ।
छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्दै रास्वपाले अन्तिम निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता विषयमा पार्टीको 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति रहेको प्रस्ट पारिएको छ। साथै, राज्यका निकायले गर्ने स्वतन्त्र अनुसन्धानमा पूर्ण सहयोग गर्ने र कानुनविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने रास्वपाले प्रतिबद्धता व्यक्त गरेको छ।