काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधिसभा सदस्य नवनिर्वाचित ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायतका काण्डहरूविरुद्ध संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन् ।
उनले अहिलेको मुख्य काम नै भ्रष्टचारविरुद्ध लड्ने भएको जिकिर गरे । वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने उनको भनाइ छ । शाहीले अहिले पनि युवाहरू रोजगारीका निम्ति विदेशिने बाध्य भएको भन्दै रोजगारी सिर्जना गर्न लडाइ गर्ने र आवश्यक कानुन बनाउने बताए ।
उनले केही कानुनलाई संशोधन गरेर ठूला अपराधीहरूलाई जेल हाल्ने चेतावनी समेत दिए ।