कुनै पनि स्थान, ठाउँ, क्षेत्र, प्रदेश र भूगोल विशेषको संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, मान्यता, कला सङ्गीत, साहित्य, सभ्यता र सिर्जना त्यो देशको प्राण हो । जसरी मानव शरीरका प्रधान अंगहरु कलेजो, मुटु, फोक्सो, दिमाग र मृगौला आदिले सम्पूर्ण मानव शरीरलाई एकीकृत गरेको छ । ठिक त्यसै गरि संस्कृति, सभ्यता र सिर्जनाले पनि मानव शरीर रुपी देशलाई एकताबद्ध बनाउने कार्य गरेको छ । मानव प्रमुख अंग विहीन मानव शरीरको कुनै अर्थ र महत्त्व हुँदैन । त्यसैगरी संस्कृति, कला, सङ्गीत, साहित्य र सिर्जना विहीन राज्यको पनि कुनै अर्थ र महत्त्व छैन ।
कला, संगीत, साहित्य, सिर्जना र संस्कृति मानव व्यवहारका अनुपम, मौलिक र अविस्मरणीय कृति हुन । सिर्जनाले नै मानव समाज आज यति सु सभ्य र परिष्कृत भएको हो । मानव समाजको उत्पत्ति संगसंगै कला, संगीत, परम्परा, मान्यता, रीतिरिवाज, चालचलन, संस्कार, संस्कृति, सभ्यता र सिर्जनाको पनि विकास हुँदै आएको पाइन्छ । यी विषयहरुले मानवीय मूल्यलाई जीवन्त राख्न सहयोग गरेको छ । पारिवारिक, सामुदायिक, सामाजिक र राष्ट्रिय एकता, एकीकरण, सदभाव, भातृत्व, स्नेह, प्रेम, सम्मान र पहिचान कायम गर्नमा सकारात्मक भूमिका निर्वाह गर्दै आएको पाइन्छ । यसले स्थानीयकरणलाई बढावा र विश्वव्यापीकरणको निरुत्साहित गर्न चाहन्छ । यसरी व्यक्तिगत, सामुहिक र राष्ट्रिय आत्मसम्मान, स्वाभिमान र गौरव लाई अक्षुण, अखण्डित राख्ने र उच्चो पार्ने कार्यले नेपालीको शिर कहिल्यै निहुराउनु परेको छैन । वेदव्यास, गौतम बुद्ध, भानुभक्त लगायतका महापुरुषहरुको जन्मभूमि र सगरमाथा जस्तो अटल प्राकृतिक सौन्दर्यको संसारकै अदभूत सम्पदाले नेपाल विश्वमा त्यसै चिरपरिचित थियो । त्यसमा थप कला, संगीत, संस्कार, संस्कृति, साहित्य, सभ्यता र सिर्जनाको विविधताले पनि संसारमै सम्पन्न रहेको छ ।
नेपाल विश्वमै विविधता युक्त देशका नामले प्रख्यात रहदै आएको छ । अनेकतामा एकता नेपाली समाजको एउटा मुख्य विशेषता नै हो । प्राकृतिक, भौगोलिक, भाषिक, जातिगत, धार्मिक सांस्कृतिक, हावापानी, पर्यावरण, क्षेत्रीय, प्रादेशिक, संचनागत बनोट,संस्कार, संस्कृतिमा पनि विविधता भएको मुलुक हो ।
नेपालमा रहेका सात वटा प्रदेश मध्येको एउटा प्रदेश सुदूरपश्चिम पनि हो । सुदूरपश्चिम प्रदेशमा पनि अनेकौं किसिमका विविधता रहेका छन । समस्या, अवसर, सम्भावनाका हिसाबले त्यतिकै सम्पन्न रहेको छ । विकास र पूर्वाधारका हिसाबले कमजोर देखिए पनि त्यो राज्यको असन्तुलित विकासको नीतिका कारणले त्यसो भएको इतिहास साँची रहेको छ । कला, साहित्य, संगीत, सिर्जनामा पनि धनी नै रहेको छ ।
गौरा पर्व, नयाँ वर्ष ( विशु पर्व), न्याउले भाकाको गीत संगीत, देउडा, भुवा, हुड्के नाच,जात्रा, दशैं तिहार, माघी लगायतका अनेकौं संस्कार, संस्कृति, चालचलन, परम्परा, रीतिरिवाज, सिर्जनाका कारण सुदूरपश्चिम प्रदेशको पहिचानलाई विश्वमा चिनाउन सफल भएको छ । सुदूरपश्चिमका बासिन्दाहरु बीचमा एकता, सद्भाव, भाइचारा, स्नेह, प्रेम, आत्मीयता अभिवृद्धि गर्नमा यी संस्कार, संस्कृति, सभ्यता र सिर्जनाको महत्त्वपूर्ण भूमिका रहेको छ ।
सुदूरपश्चिमका वन पाखाहरुमा फूल्ने प्याउँली, लालीगुराँस, बुकि फूलहरुले यहाँको सुन्दरतामा ईटा थप्ने काम गरेको छ । हिमालको काख बाट उत्पत्ति भएर दक्षिण सम्म कलकल बग्ने निश्चल नदिहरुको आवाजले सुदूरपश्चिमलाई थप सुन्दर बनाउने काम गरेको छ ।
धरातलीय विविधता अनुसारका चुनौती र सम्भावनाको संगमको रूपमा सुन्दर सुदूरपश्चिम रहेको छ । जाति, स्थान, समय, क्षेत्र र माटो अनुसार मनाइने फरकफरक चाडपर्व, रीतिरिवाज, मान्यता, परम्परा, संस्कार र संस्कृतिले सुदूरपश्चिम प्रदेशलाई बाह्रै महिना रोमान्चित, आनन्दित र खुशी तुल्याएको हुन्छ । फाटेका मन सिउन, च्यातिएका सम्बन्ध पुनः जोडन, एक अर्का बीचको पारस्परिक सहयोग, सहकार्य, हितको परिपूर्ति गर्नमा यस्ता क्रियाकलाप कोशेढुंगा बनेका छन । प्वाल परेको बेलून र हावा नभरिएको बेलूनको कुनै महत्त्व हुँदैन । त्यसैगरी सुदूरपश्चिममा रहेका कला, साहित्य, सिर्जना, संस्कार र सभ्यता उक्त प्रदेशका मात्रै नभईकन राष्ट्रकै सम्पत्ति हुन । वार्षिक तिथिमिति अनुसार मनाउनाले यस्ता संस्कृतिको संरक्षण हुने, अर्को पुस्ताले सिक्ने, जान्ने, बुझ्ने अवसर पाउने, अपनत्वको भावना विकास हुने, सहभागितामा बढोत्तरी हुने, प्रचारप्रसार हुने, पर्यटकीय गतिविधि फस्टाउने, आर्थिक गतिविधि चलायमान हुने, विकासले गति लिने, पूर्वाधारहरुको निर्माण हुने, मानवीय जीवन स्तर सहज, सरल र सजिलो हुने, मानव सम्बन्धको गाँठो बलियो हुने, जीवन गुणस्तरीय हुने, मानव विकासमा सुधार हुने, असमानता, शोषण, दमन, विभेद, हिंसा, छुवाछूत, बेरोजगारी, गरिबी, अभाव, पछौटेपन, समस्या, विकृति, गल्त चलन हटाउनमा सहायक हुने ।
मानव समाजलाई सुव्यवस्थित, योजनाबद्ध, प्रभावकारी, मर्यादित, अनुशासित, प्रणालीबद्ध, मान्यता र मूल्य मुताबिक संचालन गर्न र समयको गति अनुकूल अगाडि बढाउनमा पनि अहम् भूमिका रहेको छ ।
संस्कृति, संगीत, कला, साहित्य, सिर्जना, मान्यता, रीतिरिवाज, चालचलन र परम्परा स्थान, समय, क्षेत्र, समाज, समुदाय र परिवार अनुसार फरकफरक भए पनि उक्त समाज, क्षेत्र र राज्यको प्राण हुन । जसरी पानी बिनाको माछाको जीवन अस्तित्व छैन ठिक त्यसैगरी माथी उल्लेखित पक्षहरु बिना पनि समाज, क्षेत्र र राज्य कुनै स्थान छैन । व्यक्तिगत, पारिवारिक, सामाजिक, प्रादेशिक र राष्ट्रिय एकता र मजबुतीकरणको लागि कला, संगीत र सभ्यताको महत्त्वपूर्ण योगदान रहने गर्दछ । विदेशी हस्तक्षेपलाई निस्तेज पार्न पनि यस्ता पक्षहरुको अनिवार्यता रहेको छ । पारिवारिक एकीकरण देखि राष्ट्रिय एकीकरण गर्नमा यस्ता पक्षहरुको बलियो उपस्थिति आवश्यक छ । राज्यको प्राण रुपी कला, संस्कृति, साहित्य, सिर्जना र संस्कारको संरक्षण, विकास, प्रवर्द्धन गर्नु आजको चुनौती र खाँचो रहेको छ ।
लेखक विनोद सिं धामी(विन्दास) पेसाले शिक्षक हुन् ।