काठमाडौं- काठमाडौंको सुन्दरीजलमा बोलबम गएकी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा चितवन घर भई हाल काठमाडौंको कपनमा बस्दै आएकी ३० वर्षीया सन्ध्या धामी रहेकी छिन्। उनको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार धामी सोमबार बिहान (आइतबार राति) करिब १:३५ बजे गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिर क्षेत्रमा पुगेकी थिइन्। सोही क्रममा उनी ढुंगामा चिप्लिएर खोलामा खसेकी थिइन्।
घटनालगत्तै प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो, तर उपचारकै क्रममा चिकित्सकले करिब १:४८ बजे उनलाई मृत घोषणा गरेका थिए।