×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सबै स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्ती गर्छौ : कानुनमन्त्री

सबै स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्ती गर्छौ : कानुनमन्त्री

लाहान - कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देशैभरका स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्त गर्न लागेको बताएका छन् । 
सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा आइतबार(आज) राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले न्यायिक सेवामा सर्वसाधारण जनताको सहज पहुँच पुर्याउन प्रभावकारी रुपमा न्याय सम्पादनका लागि स्थानीय न्यायिक समितिमा कानुनी सहायता अधिकृतको रुपमा कानुन व्यवसायी नियुक्त गर्न लागिएको बताए । 

‘न्यायिक समितिहरुमा दक्ष कानुनी व्यक्ति नहुदाँ जनताहरूले सहज रुपमा कानुनी सेवा उपभोग गर्न सकिरहेको छैनन् । कानुन मन्त्री श्रेष्ठले भने, ‘त्यसैले ७७ जिल्लाका सबै स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्त गर्न लागेका छौं । यसबाट दलित, बिपन्न समुदायले सहज रुपमा न्यायको अनुभूति गर्न पाउने छन् ।’


यसका साथै ७७ वटै जिल्लाको जिल्ला अदालतमा एक÷एक जना कानुनी सहायता अधिकृत नियुक्तिको प्रक्रिया समेत अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए । 

सरकारले गरिरहेको एकपछि अर्को लोकप्रिय काम देखेर तर्सिएका प्रतिपक्षी दलहरु सरकार विरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले वर्तमान सरकारले मुलुकलाई सम्मृद्ध बनाउन स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतका क्षेत्रमा लोकप्रिय कार्य गरिरहेको दाबी गरे । 

‘वर्तमान सरकारले भौतिक पूर्वाधार विकास सँगै मुलुकलाई समृद्ध बनाउने थुप्रै योजनाअघि सारेको मन्त्री श्रेष्ठले बताए ।

उनले सुरुङ मार्ग निर्माण, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता गौरवका योजनाहरु तीव्ररूपमा अघि बढाएको बढेको भन्दै सबै योजनाहरु छिट्टै सम्पन्न हुने दाबी गरे । 

दलित विपन्नका लागि सुरक्षित आवास, सुकुम्बासीलाई जग्गाको व्यवस्था, प्रत्येक दलित बस्तीमा सामुदायिक भवन, दलित छात्रछात्राहरूको उच्च शिक्षा निःशुल्क लगायतका थुप्रै काम सरकारले अघि बढाएको मन्त्री श्रेष्ठको कथन रहेको छ । 

सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, प्राविधिक शिक्षालयहरू निर्माणको काम अगाडि बढाउँदै जिल्लाको अवस्था कायापलट गर्ने उनले दाबी गरे । 

कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीको निर्देशन विपरित जाने नेताहरुलाई पार्टीले कारबाही गर्ने बताए । अहिले पार्टीभित्रै बसेर कतिपय नेताहरु पार्टीलाई फुटाउने, पार्टीको भावना विपरित समानान्तर समिति बनाउने, पार्टीको निर्देशन विपरित हिड्न थालेकाहरूलाई कारबाही गरिने बताए ।

नेता बस्नेतले सबै नेताहरूमाथि निगरानी गरिरहेको भन्दै छिट्टै पार्टीले ती नेताहरुलाई कारबाही गर्ने जिकिर गरे । 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई नेकपा एमालेमा प्रवेश गराइएको थियो । देशभरि कोभिड १९ को दोस्रो लहर फैलिएका बेला भिडभाड नगर्न, मेलापात लाउन स्थानीय प्रशासनले बन्देज लगाइरहेका बेला सरकारी मन्त्री र पूर्वमन्त्रीहरू भने भीडभाड गरेर सभा सम्मेलन गरिरहेका छन् ।

जिल्लामा १ र २ गते लाग्ने मेलाहरु बिथोल्न लागेको प्रहरी भने आजको सभामा धर्ना दिईरहेका थिए । यसलाई सर्वसाधारण जनताले सरकारले आफ्नै वक्तव्यको खिल्ली उडाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्