×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली क्रिकेट टोलीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

नेपाली क्रिकेट टोलीलाई  प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।

खेलाडीहरूलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाइ छ । तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।”


प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईँहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईँहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।”

“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भन्नुभयो, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।”

“सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैँ तपाईँहरूको साथमा छु । खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भन्नुभयो, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।”

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिनुहुँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्