काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बलात्कार मुद्दामा दश वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ९ वर्ष कैद र पीडितले दश लाख जरिवाना लिने फैसला गरेपछि फरार रहेका अभियुक्त दश वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मानेस्वारा घर भई हाल भक्तपुर बस्दै आएका सागर तामाङ रहेका छन्। पक्राउ परेका तामाङले १५ वर्षकी युवतीलाई फोन गरी काठमाडौंमा राम्रो काम लगाइदिने आश्वासन दिएर बानेश्वरको शुभलक्ष्मी गेष्ठ हाउसमा जबरजस्ती करणी गरेका थिए ।
पीडितले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले ०७१ साल ५ वैशाखमा उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो । प्रहरीले पक्राउ गरेको तामाङलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।