काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुनेछ ।
नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले गठबन्धनको सरकार भएकाले साझा धारणा बनाउन बैठक बस्ने थालेको जानकारी दिए । ‘गठबन्धनको सरकार भएकाले कांग्रेसको मात्रै धारणा भन्दा पनि सत्ता घटकका दलका शीर्ष नेताको बैठकबाट साझा धारणा आउँछ,’ उनले भने ।
व्यवस्थाविरुद्धको राष्ट्रपतिको कदम भएकाले संविधान बचाउने प्रमुख विषय भएर आएको सचेतक विश्वकर्माले बताए । विधानको दायरा राष्ट्रपतिले कुल्चिएकाले यही मुद्दा बनाएर चुनावमा जाने उनको भनाई छ । बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुनेछ ।
सङ्घीय संसद्ले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।