काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई २५/२५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको संयोजकत्वमा रहेको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
संयोजक बस्नेतले प्रेस विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रतिमृतक परिवार २५ हजार राहत उपलब्ध गराउने जनाएका छन् । कांग्रेसले यसअघि समेत विपद्मा परेर मृत्यु भएकाहरुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न समेत संयोजक बस्नेतले पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।