काठमाडौं- आइफोन निर्माता कम्पनी एप्पलले गत वर्ष आइफोन १२ सिरिजमा पहिलोपटक सानो आकारको आइफोन १२ मिनी सँगै मिनी मोडेलको सुरुवात गरेको थियो ।
आइफोन मिनीलाई एप्पलले आफ्नो हालै सार्वजनिक भएको आइफोन १३ मा पनि निरन्तरता दिएको छ । तर एक समाचार अनुसार आइफोन मिनी १३ नै आइफोनको मिनी मोडेलको अन्तिम संस्करण हुनेछ । अर्थात् एप्पलले आइफोन मिनी मोडेल बन्द गर्ने भएको छ । यो सँगै आगामी वर्ष बजारमा आउनेछैन ।
कतिपय रिपोर्टहरुका अनुसार एप्पलले आइफोनको मिनी मोडेलबाट खासै फाइदा उठाउन सकेन । प्रयोगकर्ताहरुले आइफोनका अन्य मोडेलको तुलनामा मिनी मोडेललाई कम मात्रै रुचाएको पाइएको छ । गतवर्ष लञ्च भएको आइफोन १२ मिनीको बिक्रि पनि खासै राम्रो रहेन ।
त्यसैले आइफोन मिनी मोडेललाई बजारमा ल्याएको दुई वर्षमै अन्त्य गर्ने निर्णयमा एप्पल पुगेको बताइएको छ । यद्यपि यस विषयमा एप्पलले कुनै आधिकारिक घोषणा भने गरिसकेको छैन ।
एप्पलका प्रडक्टका बारेमा खुलासा गर्ने तथा विवरणहरु दिने टिप्सटर जोन प्रोसेरका अनुसार एप्पलले आगामी वर्ष आइफोन १४ मिनी लञ्च नगर्ने निर्णय गरिसकेको छ ।
त्यसैले आइफोन मिनी मोडेलका रुपमा आइफोन १३ मिनी नै अन्तिम आइफोन हुनेछ । यदि तपाइँलाई आइफोनको मिनी मोडेल मन पर्दछ भने तपाइँका लागि आइफोन १३ खरीद गर्ने अन्तिम मौका हुनेछ ।
प्रोसेरका अनुसार आगामी वर्ष सन् २०२२ मा एप्पलले आइफोन १४ सिरिजका ३ वटा मोडेल मात्र सार्वजनिक गर्नेछ । हाल आइफोन १३ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर रहेको छ ।