काठमाडौं - सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा ताकिने पेसी अब स्वचालित रूपमा हुने भएको छ । यसअघि मानवीय रूपमा निर्धारण गरी पछि सोको विवरणलाई सफ्टवेयरमा प्रविष्टि गर्ने गरिएकोमा अब पेसी तारेख निर्धारणको कार्य सफ्टवेयरबाट हुने भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको पदबहालीको अवसर पारी सर्वोच्च अदालतले सोमबारदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएको जानकारी दिएकाे छ ।
यो प्रणाली अन्तर्गत सफ्टवेयरले नै पहिला पेसी तारेख लिन आउनेलाई स्वचालित रूपमा उपलब्ध भएसम्म पहिलो मितिमा पेसी तारेख दिने, सफ्टवेयरबाट स्वचालित रूपमा पेसी तारेख निर्धारण गर्ने क्रममा कुनै पनि मानवीय हस्तक्षेप नहुने र प्रणालीद्वारा निर्धारण भएको पेसी तारेख मितिको जानकारी पक्षहरूलाई एसएमएसद्वारा जानकारी हुने बताइएको छ ।
त्यस्तै स्वचालित प्रणालीले तय गरेको पेसी तारेख मिति परिवर्तन नहुने र पेसी तारेखमा एकरूपता, पारदर्शिता तथा विश्वसनीयता कायम गर्न सहयोग पुग्ने बताइएको छ ।
सफ्टवेयर प्रयोगमा आएसँगै पेसी तारेख निर्धारण हुने क्रममा हुनसक्ने गल्ती कमजोरी तथा विकृतिहरूको अन्त्य हुने पनि विश्वास गरिएको छ ।
यस्तो छ स्वचालित पेसी तारेख प्रणालीको सञ्चालन प्रक्रिया
सामान्यतया प्रणालीले तय गरेको पेसी तारेख मिति परिवर्तन नहुने भएपनि विशेष कारणले स्वचालित पेसी तारेख प्रणालीले तय गरेको पेसी तारेख मितिमा मुद्दाका पक्षहरू अदालतमा उपस्थित हुनसक्ने अवस्था नभएमा रुजु प्रयोगकर्ताले प्रणालीले तय गरेको पेसी तारेख मितिलाई सो मिति भन्दा पछाडि प्रणालीले नै उपलब्ध गराएको मितिमा पेसी तारेख रहने गरी पेसी तारेख मिति परिवर्तन गर्न सकिने बताइएकाे छ ।