काठमाडौ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक गुजरात टाइटान्सले सनसनीपूर्ण जित हासिल गरेको छ । गुजरातले शनिबार बेलुकी सम्पन्न खेलमा लखनउ सुपर जाइन्टसलाई ७ रनले हरायो । लखनउमा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा १३५ रन बनायो ।
कप्तान हार्दिक पाण्डेयाले ५० बलमा ६६ रन बनाए । ऋद्धिमन साहाले ३७ बलमा ४७ रन बनाए । क्रुनाड पाण्डेया र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।
जवाफमा लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रन बनायो । अन्तिम ओभरमा जितका लागि मात्र १२ रन चाहिएकामा लखनउले ४ विकेट गुमाएर मात्र दुई रन लिएपछि लखनउले हार्यो ।
एकाएक हार नजिक पुगेको गुजरातका लागि उत्कृष्ट बलिङ गरेका मोहित शर्माले लगातार दुई विकेट लिएर ह्याट्रिक नजिक थिए । उनले ह्याट्रिक नलिए पनि टिमले भने लगातार चार विकेट लियो । दुई खेलाडी रनआउट भएका थिए ।
२ ओभरमा १७ रन दिएर २ विकेट लिएका मोहित नै प्लेयर अफ द म्याच भए । खेलमा नुर अहमदले पनि २ विकेट लिए । राशिद खानले १ विकेट मात्रै लिए । अंक तालिका
राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस ७ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स पनि ८ अंकसहित तेस्रो स्थानमा छ ।
६ खेलबाट ८ अंक नै जोडेको साविक विजेता गुजरात टाइटान्स चौथो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान ६ अंक रहेको छ । कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ४ अंक छ । ६ खेलबाट २ अंक जोडेको दिल्ली क्यापिटल्स पुछारमा छ ।