नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अधिकांश पदाधिकारीलाई बिदाई गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो संगठनका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर संगठनमा ऊर्जा ल्याउन र नयाँ नेतृत्व स्थापित गर्न पुरानालाई बिदाई गर्न लागिएको बताएका हुन् । लामो समय एकै व्यक्ति नेतृत्वमा रहँदा नेतृत्व विकास अवरुद्ध हुने भएकाले संयोजक रञ्जित तामाङसहित हालका सबै पदाधिकारीले संगठन छाड्न तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो ।
अहिलेका पदाधिकारीमध्ये एक जनाले नेतृत्व लिने र अध्यक्षदेखि महासचिवसम्मलाई पार्टीमा जिम्मेवारी दिएर पठाउने प्रस्ताव प्रचण्डले राखेको क्रान्तिकारीका एक पदाधिकारीले जानकारी दिए । क्रान्तिकारीमा अध्यक्ष, ८ उपाध्यक्ष र एक महासचिव छन् ।
सचिवदेखि तलका पदाधिकारीले भने निरन्तरता पाउने प्रचण्डले बताए । ‘तपाईंहरु नेताका रुपमा स्थापित भइसक्नुभयो । अब पार्टीमा आएर मलाई सहयोग गर्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘को रहने र को जाने भन्नेबारे पार्टीले निर्णय गर्छ र उचित जिम्मेवारी दिनेछ । पार्टीको निर्णय मानेर जानुस् ।’ प्रचण्डले विद्यार्थीसहित पार्टीका सबै भातृ संस्थाको नेतृत्व चयनको मोडाटिली तयार पार्न लागिएको उल्लेख गरे ।
५० प्रतिशत निर्वाचन । ५० प्रतिशत आन्तरिक मूल्याङ्कन विधिबाट सांगठनिक संरचना निर्माण गरिने उनको भनाइ थियो । जवाफमा क्रान्तिकारीका नेताहरुले पार्टीमा क्षमताअनुसार उचित जिम्मेवारी पाए प्रस्ताव पार्टी निर्णय मान्न तयार रहेको बताएका थिए । अध्यक्ष तामाङले एमालेसँगको एकताका कारण झण्डै दुई कार्यकाल जस्तो नेतृत्वमा बसेकाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताए ।
एमाले र माओवादी एकतापछि तामाङ अनेरास्ववियुको सह–संयोजक थिए । तामाङ क्रान्तिकारीको ०७४ भदौमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।