सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समत तोकिएको छ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी रहेको सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । आज ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।