प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई फोन गरेर शीर्घ स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका देउवाले त्यहीँबाट खनाललाई फोन गरेका थिए । ‘भाउजुको स्वास्थ्यस्थिति बुझेपछि उहाँले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसपछि छलफलका क्रममा पूर्वप्रधानमन्त्री खनाललाई समेत फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो,’ स्राेतले भन्यो, ‘उहाँले सरकारमा सहभागी हुनेबारेमा समेत उपयुक्त सुझाव दिनुहोला भनेर आग्रह गर्नुभएको छ ।’
देउवाले प्रतिनिधिसभामा विश्वासको मत दिएको एमालेको माधवकुमार नेपाल समूह अहिले छलफलमा छ । उसले सरकारमा सहभागी हुने/नहुने भन्नेबारे निर्णय गरिसकेको छैन । विश्वासको मत दिने सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका प्रधानमन्त्री देउवाले खनाललाई नेपाल समूहलाई सरकारमा सहभागी हुनेबारे समेत उपयुक्त सल्लाह दिन आग्रह गरेका हुन् ।
यसअघि विश्वासको मत लिने बेला पनि उपचाररत रहेका खनालले विज्ञप्ति जारी गर्दै संविधान र लोकतन्त्रको रक्षाका निमित्त देउवालाई विश्वासको मत दिन आह्वान गरेका थिए ।