काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा आएका छन्। उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।
उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। त्यसैगरी भोलि सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीसँग भने मंगलबार बिहानका लागि भेट तय भएको छ।
ओलीलाई भेट्न लिउ उनको निवास बालकोटमै पूगने बताइएको छ। लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए।
स्वदेश फर्किने दिन बुधबार लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। लिउ एयर चाइनाको विमानबाट आज बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।