×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

केपी ओलीको एमालेले गठन गर्‍यो नौ विभाग, आफैं बने स्कुल विभाग प्रमुख

केपी ओलीको एमालेले गठन गर्‍यो नौ विभाग, आफैं बने स्कुल विभाग प्रमुख

प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेको  विधान अधिवेशनको तयारीमा जुटेको  छ । अहिले नेकपा एमालेले पार्टीका नौ वटा विभाग गठन गरेको छ । ललितपुर जिल्लाको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमवार बसेको पार्टीको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ वटा विभाग गठन गरेको हो । 

पछि पनि सदस्य थप गर्न मिल्ने गरी गठन गरिएको विभागमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैँले राखेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।सङ्गठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा। राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई मनोनित गरिएको छ । 

प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताए । विभागलाई पूर्णता दिन सदस्यहरूको मनोनित गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ ।

एमालेले आउँदो साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आउँदो भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनमा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । त्यसको दुई दिनअघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने निर्णय पनि एमालेले गरेको छ ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आउँदो असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रतिकृया दिनुहोस्