काठमाडाैँ- २० औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब खेल्दैछन् । खेल पोखरा रंगशालमा हुनेछ ।
यस पटकको उपाधिका लागि ६ पटक च्याम्पियन बनिसकेको मनाङसँग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफको पहिलो भेट भएको हो । मनाङ सातौँ पटक च्याम्पियन बनेर आहा रारा गोल्डकपमा सर्वाधिक उपाधि विजेताको ताज पहिरने रेकर्ड कायम गर्न आतुर छ । गोल्डकपमा तीन खेल जितेर फाइनलमा पुगेको एपीएफ पहिलो पटक उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।
एपीएफ उद्घाटन खेलमा आयोजक सहारालाई २-०, क्वार्टरफाइनलमा बीवाईएससी मिनिसोटा अमेरिकालाई ३-१ र सेमिफाइनलमा मच्छेन्द्र क्लबलाई ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । मनाङ दुई खेल खेलेर फाइनल यात्रा तय गरेको हो । मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल र आर्मीलाई टाइब्रेकरमा ४-३ ले हराउँदै १२ औं पटक फाइनलमा प्रवेश गरेको हो ।