×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अख्तियारको छानबिन नसकिएसम्म एनपीएल सिजन २ को काम रोक्न क्यानलाई निर्देशन

अख्तियारको छानबिन नसकिएसम्म एनपीएल सिजन २ को काम रोक्न क्यानलाई निर्देशन

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित सरकारी कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई दोस्रो संस्करणका सम्पूर्ण काम रोक्न निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन नसकिएसम्म एनपीएलसम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन कार्यदलले क्यानलाई पत्रमार्फत सचेत गराएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन कार्यदलले आइतबार क्यानलाई पत्र पठाउँदै यसअघि मागिएका कागजात र स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ। "कार्यदलले माग गरेको विषयमा केवल झारा टार्ने उद्देश्यले सतही उत्तर प्रदान गरेको देखियो," पत्रमा उल्लेख छ, "त्यसकारण, अख्तियारमा परेको उजुरीबारे स्पष्ट जवाफ पेश गरी उक्त निकायबाट छानबिन नसकिँदासम्म एनपीएलसम्बन्धी कुनै कार्य नगर्नू/नगराउनू हुन जानकारी गराइन्छ।"

कार्यदलले यसलाई 'अन्तिम पटक' दिइएको मौका भन्दै मागअनुसार जवाफ नआए कानुनबमोजिम अघि बढ्ने चेतावनीसमेत दिएको छ।

क्यानको प्रतिक्रिया: जवाफ दिन्छौं, तर एनपीएल रोकिँदैन

कार्यदलको पत्रबारे क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पत्र प्राप्त भएको र आवश्यक जवाफ पेश गर्न एनपीएल गभर्निङ काउन्सिलका संयोजक तथा क्यान सचिव पारस खड्कालाई निर्देशन दिइसकेको बताउनुभयो। यद्यपि, उहाँले छानबिनकै कारण एनपीएल रोक्न नहुने तर्क गर्नुभयो। "एनपीएल रोकिहाल्नुपर्ने कारण म देख्दिनँ," चन्दले भन्नुभयो, "दोस्रो संस्करण अझ भव्य हुनेछ।"

उहाँले जुलाई अन्तिममा बस्ने क्यानको बोर्ड बैठकमा सबै विषयमा छलफल गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिनुभयो।

विवादको पृष्ठभूमि

२०८१ मंसिरमा सम्पन्न एनपीएलको पहिलो संस्करण सफल भए पनि आयोजनामा आर्थिक अनियमितता भएको र ६ महिना बितिसक्दा पनि हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीपछि खेलकुद मन्त्रालयले राखेप बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको थियो।

कार्यदलले जेठ २६ मा पनि क्यानलाई पत्र काटेको थियो, तर जवाफ अपूर्ण र अस्पष्ट आएपछि पुनः कडा व्यहोराको पत्र पठाएको हो।

यसैबीच, राखेपका सदस्यसचिव टंकलाल घिसिङले उक्त कार्यदल मन्त्रालयको कार्यादेशअनुसार गठन भएकाले यसको निर्देशनलाई राखेपको प्रत्यक्ष आदेश भन्न नमिल्ने बताउनुभएको छ।

आन्तरिक विवाद र छानबिन प्रक्रियाले गर्दा अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको एनपीएलको दोस्रो संस्करण तोकिएको समयमा हुनेमा आशंका बढेको छ।

प्रतिकृया दिनुहोस्