विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताबीचकाे बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार साँझ बसेको छ।
बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री पूर्णबहादुर खड्का, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए।
प्रतिनिधिसभा विघट्न निर्णय बदरकाे माग गर्दै सर्वाेच्च अदालत पुगेकाे याे गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा, बाह्य हस्तक्षेपको अन्त्य गर्ने निष्कर्ष निकालेकाे छ।
पछिल्लाे पटक नेता नेपाल गठबन्धनबाट बाहिर सक्ने आँकलन पनि भइरहेका छन्। तर बैठकमा नेपालले आफू गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको बताएका थिए।
एमाले एकताको सम्भावनाबारे प्रश्न उठेपछि नेता नेपालले तत्कालै आफूहरूले गठबन्धनबाट बाहिरिनुपर्ने कुनै कारण नरहेको बताएका थिए। ‘हामी मिल्न सक्छौँ, तर त्यसको आधार जेठ २ मा फर्किनु होइन। अब मुख्य मुद्दा प्रतिनिधिसभा पुन:स्थापनाकाे हो । २ जेठमा फर्किने अमूर्त कुराले हाम्रो एकता सम्भव छैन,’ नेता नेपालले भनेका थिए।