काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे छ । मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक बसेकाे हो ।
बुधवार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि एक घण्टा ढिला गरी छलफल सुरु भएको हो । यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ ।
तर संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन । आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलका सदस्यहरुको दाबी छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बैठकपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने जनाइएको छ ।