काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आइतबार नतिजाको 'डेमो' परीक्षण समेत गरिएको थियो। स्रोतले भन्यो, "हिजो डेमो परीक्षण सफल भयो, त्यसैले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।"
बोर्डको वार्षिक कार्यतालिका अनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो। तर, गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशनमा असर परेको हो।
शिक्षक आन्दोलनकै कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पछि सरेर वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी भएका थिए।