काठमाडौँ - बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उनकै दलका बहुमत सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। शुक्रबार कांग्रेसका २१ जना प्रदेश सांसदले हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई उक्त प्रस्ताव बुझाएका हुन्।
लामालाई संसदीय दलको नेताबाट हटाउनका लागि १९ सांसदको समर्थन आवश्यक पर्नेमा २१ जनाले हस्ताक्षर गरेकाले उनको पद धरापमा परेको छ। कुल २४ जना सांसद लामाको विपक्षमा रहेको तर तीन जना काठमाडौँ बाहिर भएकाले हस्ताक्षर गर्न नसकेको बताइएको छ। संसदीय दलको नेताबाट हटेसँगै मुख्यमन्त्री लामा स्वतः पदमुक्त हुनेछन्।
यसैबीच, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन लामा नेतृत्वको मन्त्रिपरिषद्मा रहेका कांग्रेसका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्। यो घटनाक्रमले बागमती प्रदेश सरकारको भविष्य अनिश्चित बनेको छ।