काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल विनायक नगरपालिका-४ किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकको विशेष समयमा बोल्दै अछाम क्षेत्र नम्बर २का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।
उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन। हत्या गरिएको ९ दिनसम्म लाश जंगलमै छ।’
त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु।’
जेठ १७ गते हराएका शाहीको २१ गते गाउँ नजिकै जंगलमा शव भेटिएको थियो। शव पोष्टमार्टम गर्ने विषयमा अहिले प्रशासनले मृतकका आफन्तसँग छलफल गरिरहेको छ।