काठमाडौँ - आन्तरिक विवादकै विच महाधिवेशन गर्न लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा त्यति उत्साह देखिएको छैन् । अधिबेशन सुरु हुनु एक दिन मात्रै रहँदा पनि नेताहरु आप्नो उम्मेदवारी घोषणा गरि प्रचार प्रचार गर्न सकेका छैनन् । सर्वसहमत हुन नसकेपनि वर्तमान पार्टी अध्यक्ष के पी शर्मा ओली पुन अध्यक्ष बन्ने लगभग पक्का पक्की जस्तै भएपनि अन्य पदाधिकारीमा भने को के पदमा उठ्ने कुनै टुगों लागेको छैन ।
सबै पदाधिकारीमा सर्वसहमत गर्ने कसरत गरिएको भनिएपनि सर्वसहमत हुने सम्भावना देखिदैन । महाधिवेशन प्रतिनिधीहरु पनि आफ्ना नेताहरुलाई कुन पदमा भोट माग्ने र भाेट हाल्ने हाे भन्नेमै अन्योलमा छन् । वडा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटपछि क्षेत्र‚ जिल्ला र प्रदेशको अधिवेशन नगरी सिधै केन्द्रीय महाधिवेशन गर्न लागेको एमालेभित्र चुनावी रस्साकस्सी भने सुरु भइसकेको देखिँदैन । भीम रावलले अध्यक्षमा, महेश बस्नेतले सचिवमा र केही नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेपनि धेरै जसो नेताहरु आंकाक्षी रहेपनि आफ्नो उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।
माधवकुमार नेपाल र झलनाथ खनाल समूह पार्टीबाट अलग्गिएपछि हुन लागेको यो महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन भनेको छ । १५ सदस्यीय एमाले पदाधिकारी चयन हुनुपर्नेमा ५० भन्दा बढी नेताहरू विभिन्न पदका आकांक्षी छन् । अध्यक्षदेखि नै सुरु भएको यो शृङ्खला सचिवसम्मै छ । एमालेले अध्यक्ष, उपाध्यक्षसँगै ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरेर जम्मा १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउनेछ । यसमा आकांक्षीहरू धेरै हुँदा समस्या देखिएको हो ।
ओलीले पदाधिकारीबारे मुख खोलेका छैनन् । सुरुदेखि नै सर्वसम्मत रूपमा टुङ्ग्याउने भनिएकाले नेताहरूले पनि केही भन्न सकिरहेका छैनन् । नेताहरूले पनि मुख नखोलेका कारण उनीहरूले ओलीले भनेकैमा चित्त बुझाउने एक नेता बताउँछन् । ‘म अध्यक्ष कमरेडसँग धेरै समयदेखि छु । आकांक्षीहरू आउनुहुन्छ । राजनीतिक गफगाफ हुन्छ । पदकै विषयमा कुरा हुँदैन । यो भनेको उहाँहरूले अध्यक्षलाई तपाईँले जे भन्नुहुन्छ त्यसमै मान्छौँ भन्नुभएको हो ।’
यो महाधिवेशनले एमालेको अध्यक्षमा केपी शर्मा ओली दोहोरिने कुरामा कुनै शंका छैन । ओली सर्वसम्मत रूपमा अध्यक्ष हुन चाहन्छन् । उनको त्यो चाहना पूरा होलारनहोला भन्ने मात्र होस अध्यक्ष हुनेमा कुनै शंका नरहेको परिदृष्यले नै देखाउँछ । उनी निकटको मात्रै होइन‚ लामो समय ओलीको विरोधी कित्तामा राजनीति गरेका नेताहरू नै एमालेमा ओलीको विकल्प नरहेको भन्दै ओलीलाई रिझाउने योजनामा लागेका छन् ।
अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउनकै लागि पार्टीको पहिलो विधान महाधिवेशनमा आफू अनुकूल व्याख्या गराउँदै आफू ७० वर्ष पुग्नुअगावै महाधिवेशन सम्पन्न गराउँदैछन् । असोज १७ गते विधान महाधिवेशनलाई समापन गर्दै ओलीले भनेका थिए, ‘पार्टीलाई बहुमत दिलाएर मात्रै बिदा हुन्छु ।’ उनी आगामी फागुनमा ७० वर्ष पुग्दैछन् । एमाले विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ ।
अहिले उपाध्यक्ष रहेका भीम रावलले १०औँ महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी आफ्नो घोषणामा अडिइरहे भने अध्यक्षका लागि पनि चुनाव हुनेछ । जसले केपी शर्मा ओली सर्वसम्मत एमाले अध्यक्ष हुन पाउने छैनन् । भलै चुनावबाट रावलले ओलीलाई हराउने सम्भावना केवल गणितीयमात्रै छ ।
यस पटकदेखि थपिएको वरिष्ठ उपाध्यक्ष पदमा को आउने भन्नेमा पनि दह्रो शक्ति संघर्ष छ । सुवास नेम्वाङ, ईश्वर पोखरेल र रामबहादुर थापा मुख्य दाबेदार छन् । तर उनीहरूमध्ये कसलाई ओलीले साथ दिने हुन् भन्नेबारे भने भनिहाल्न अहिल्यै हतारो हुने ओलीनिकट एक केन्द्रीय सदस्यले बताए ।
नेम्वाङ लामो समयदेखि ओलीको विश्वासपात्र र अत्यन्तै निकट रहेका नेता हुन् । नेम्वाङलाई ओलीले के गर्छन् रु भन्ने प्रश्न पनि उत्तिकै पेचिलो बनेको छ । नेम्वाङ वरिष्ठ उपाध्यक्षमा गएनन् भने उनी वरिष्ठ नेता बन्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् । यसबारे जिज्ञासा राख्दा उनी भन्छन्, ‘मैले त दाबी पनि गरेको छैन । यसको व्यवस्थापन सबै अध्यक्षज्यूले गर्नुहुन्छ । मैले त्यसरी सोचेकै छैन ।’ यद्यपि वरिष्ठ नेताको रूपमा यो महाधिवेशनबाट कोही न कोही नेताहरू रहन सक्ने भने उनी बताउँछन् ।
अहिलेका महासचिव पोखरेलले भने आफू महासचिवमा नदोहोरिने भन्दै वरिष्ठ उपाध्यक्षका लागि लबिङ थालिसकेका छन् । उता ०७७ फागुनमा एमालेमा प्रवेश गर्दै ओलीले रामबहादुर थापालाई यो सर्त राखेको बताइन्छ । असोज १७ गते सम्पन्न पहिलो विधान महाधिवेशनले यो पद नेताहरूको व्यवस्थापनकै लागि सिर्जना गरेको भएपनि कसले बाजी मार्छन् भनिहाल्न सकिने अवस्था छैन ।
एमालेमा ४ उपाध्यक्षको व्यवस्था छ । रघुजी पन्तदेखि लालबाबु पण्डितसम्म ८ जना जति उपाध्यक्षका आकांक्षी छन् । उपाध्यक्षमा केही अहिलेकै अनुहार दोहोरिने सम्भावना भएको पनि एमाले नेताहरू बताउँछन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मकालुखबरसँग आफू उपाध्यक्ष नै दोहोरिन तयार रहेको बताएकी छन् । ९औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बामदेव गौतमले पार्टी परित्याग गरिसकेका छन् भने भीम रावलले अध्यक्षको दाबी गरेका छन् ।
अध्यक्षपछिको सर्वाधिक शक्तिशाली पद महासचिवमा यसपटक पनि रोचक भिडन्त हुने देखिन्छ । महासचिवका उम्मेदवारी घोषणा कसैले गरिसकेका छैनन्‚ तर सुरेन्द्र पाण्डे, विष्णु पौडेल र शंकर पोखरेल मुख्य दाबेदारका रूपमा छन् । उम्मेदवारी घोषणा नगरे पनि उनीहरूले आन्तरिक तयारी तीव्र पारिसकेका छन् । दुवै नेता अध्यक्ष केपी शर्मा ओलीसँग दिनहुँजसो छलफलमा छन् । दुवैले आफैँ बन्ने दाबी गरिरहेका र ‘तपाईँ बन्नुस्’ भन्ने स्थिति अति कममात्र रहेको नेताहरू बताउँछन् ।
माओवादीसँगको एकतापछि महासचिवको जिम्मेवारी पाएका पौडेल यसपटक आफू महासचिव बन्नैपर्ने लाइनमा छन् भने पोखरेल पनि ‘ओलीको विश्वास पाउने आश’मा देखिन्छन् ।
पौडेल नेकपाको महासचिव बनिसकेका नेता हुन् भने पोखरेल ओलीका अति प्रियमध्ये एक नेता हुन् । गोदावरीको विधान महाधिवेशनका बेला आफ्नो प्रतिवेदन ओलीले बिचमै पोखरेललाई प्रस्तुत गर्ने जिम्मेवारी दिएका थिए । पोखरेललाई राष्ट्रपतिसमेत रहेकी उपाध्यक्ष विद्यादेवी भण्डारीको समेत दह्रो साथ रहेको बताइन्छ । कतिपयले त ओलीले पोखरेललाई आफ्नो उत्तराधिकारीको रूपमा खडा गर्नेसम्मको विश्लेषणसमेत गर्छन् ।
ओलीकै आग्रहमा ०७४ सालको आमनिर्वाचनमा पोखरेल प्रदेश सभामा बसे । मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा गएका उनी साढे ३ वर्ष मुख्यमन्त्री बनेका थिए । पार्टीको ९औँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका छन् । त्यतिबेला दुई जनाका लागि भएको निर्वाचनमा घनश्याम भुसाल र पौडेल विजयी भएका थिए ।
नेता सुरेन्द्र पाण्डे पनि महासचिवको दाबेदारीमा छन् । नेता पाण्डे नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले मात्र पराजित भएका थिए ।
लामो समय माधवकुमार नेपालसँग नजिक रहेका पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी एमाले महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । उनी नेकपा कालमा महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेका थिए । पछि एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल–झलनाथ खनाल समूहबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए । अहिले उनी पनि ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् ।
पाण्डेकै गृह जिल्ला चितवनमा हुन लागेको महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुनसक्ने अनुमान गरिन्छ ।
तीनै नेताहरू महासचिवका आकांक्षी भए पनि एमालेभित्र पौडेल महासचिव, पोखरेल उपमहासचिव र पाण्डे अन्य जिम्मेवारीमा रहने विकल्पका बारेमा पनि आन्तरिक तयारी गरिएको एमाले उच्च स्रोत बताउँछ ।