काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आफूमा पार्टीको नम्बर वान म्यान बनेर राजनीतिक नेतृत्व गर्न मन लागेको बताउँदै नेता सिंहले यति हुन सके पार्टीमा आमूल परिवर्तन ल्याउन सक्ने निष्कर्ष निकालेको उनले बताए ।
१४औँ महाधिवेशनले पुरानो नेतृत्व र नेताहरुलाई नै निरन्तरता दिएमा नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने निश्कर्षमा पुगेका सिंहले सिंगो पार्टीपंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताए ।
शनिबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१७ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गरे ।
नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए । “अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है । अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले यो लथालिंग अवस्थामा १४औँ महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने यो पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन,” उनले भने,
आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उमेदवारी दिने योजना बनाएको नेता सिंहले बताए । उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने पनि बताए ।