×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एन्फा पदाधिकारीविरुद्ध मुद्दा, अध्यक्षसहितका टोली फरार

एन्फा पदाधिकारीविरुद्ध मुद्दा, अध्यक्षसहितका टोली फरार

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भएको अकल्पनीय वित्तीय धाँधली, म्याच फिक्सिङ र राष्ट्रहितविरुद्धको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पूरा गरी निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। ६६ लाख ५३ हजार रुपैयाँ सोझै अनियमितता गरेको र राष्ट्रिय प्रतिष्ठामाथि आघात पुर्‍याएको निष्कर्षसहित सीआईबीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र मुलुकी अपराध संहिताअनुसार कडा कारबाहीको सिफारिस गरेको हो। प्रतिवेदन बुझाएसँगै अध्यक्ष नेम्वाङ, महासचिव राई र प्रशासन प्रमुख गोकुल थापा सीआईबीको फरार सूचीमा परेका छन् र उनीहरू भारत भागेको आशङ्का गरिएको छ।

सीआईबीको अनुसन्धानअनुसार २०२६ विश्वकप तथा एसियन कप छनोटअन्तर्गत २१ मार्च २०२४ मा काठमाडौँको दशरथ रंगशालामा हुनुपर्ने नेपाल र बहराइनबिचको 'होम म्याच' रणनीतिक रूपमा बहराइनमै सार्न एन्फा पदाधिकारीले जानीजानी रंगशालाको घाँसे मैदान अयोग्य बनाएका थिए। एएफसीका प्रतिनिधिले रंगशाला निरीक्षण गर्दा अध्यक्ष र महासचिव सम्पर्कविहीन बनेको र मन्त्रालय तथा राखेपको अनुमतिबिनै ४० जनाको टोली बहराइन पुर्‍याएर खेल हारिएको प्रतिवेदनमा उल्लेख छ। यसका साथै, विगत साढे तीन वर्षमा १५ करोड बराबरको खेल सामग्री खरिदमा नक्कली कोटेशन खडा गरी धाँधली गरिएको र केटीएम सिटीबाट एन्फाले पाउनुपर्ने २५ लाख रुपैयाँ प्रायोजन रकम महासचिव किरण राईले व्यक्तिगत रूपमा बुझेर हिनामिना गरेको तथ्यसमेत सीआईबीले पर्दाफास गरेको छ।

प्रतिकृया दिनुहोस्