काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राउतले भने, ‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैँ आएर उभिँदा नयाँ अनुभूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।’
राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै सङ्घीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा थियो । विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने धारणा राखे । यस क्रममा उनले नयाँ पार्टीहरू लोकतान्त्रिक व्यवस्थाकै कारणले संसद्मा पुगेको बताए ।
सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो ।
राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरेका थिए । मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए ।