पोखरा- असोज २८ गतेदेखि गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । ३९ वर्ष पहिले दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो । गण्डकीमा हुने उक्त प्रतियोगितालाई प्रदेश सरकार र पालिका सरकारहरूले प्रतिष्ठाका रूपमा लिएका छन् ।
प्रतियोगिताको तयारी सुरु भैसकेको छ । गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट अघि बढेको छ । तर खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक भने छैन । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौँ खेलकुदलाई लक्षित गरी प्रशिक्षकलाई तालिम बल्ल दिन थालेको छ ।
भदौ ३ गतेदेखि पहिलो चरणको विशेष खेलाडी प्रशिक्षण शुरु भएसँगै प्रशिक्षक र स्वयंसेवी गरी कास्कीका १९ प्रशिक्षकलाई प्रशिक्षण दिन थालिएको हो । अधिकांश खेलका प्रशिक्षक नभएपछि अहिले परिषद्ले अग्रज खेलाडी र स्वयंसेवकलाई प्रशिक्षण दिएर प्रशिक्षक बनाउन लागेको हो । अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण सुरु भएको सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनीहरूलाई खेलविज्ञ एवं अग्रज प्रशिक्षक सुशील नरसिंह राणा लगायतले प्रशिक्षण दिनेछन् ।
गण्डकीमा पहिलो चरणमा १४ खेलको खेलाडी प्रशिक्षणपछि दोस्रो चरणमा २२ खेलको जिल्ला छनोट सुरु हुनेछ । जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । त्यसपछि विशेष प्रशिक्षण र भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट हुनेछ । छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म १ महिनासम्म आवासीय सुविधासहित बन्द प्रशिक्षण दिनेछ ।