काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार सबै खालका मुद्दामा इजलास तोकेका छन् । सोमबार बन्दी प्रत्यक्षिकरणको मुद्दामा मात्र इजलास तोकिएकोमा मंगलबार प्रधान न्यायाधीश जबराले सबै खालका मुद्दाका १० वटा इजलास गठन गरेका हुन् । जबराले मंगलबार एउटा आफ्नो एकल र ९ वटा संयुक्त इजलास तोकेका छन् । प्रधान न्यायाधीस जबराले न्यायलय सुधारमा काम नगरेको र सत्तामा भाग लिएको भन्दै न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने कानुन व्यवसायीले पनि दिनहुँ धर्ना दिएर आन्दोलन गरिरहेका छन् ।
बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेपनि न्यायाधीशहरूले अन्य मुद्दा नहेर्ने अडान लिंदै आएका छन् । यसैबीच, नेपाल बार एसोशिएसनले आजको पेसी तोकाइले न्यायपालिकाभित्रको विकृति, बिसंगती र भ्रष्टाचार रोक्नुको साटो झनै बढाउन खोजेको आरोप लगाएको छ ।
बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले कानून ब्यवसायी र न्यायाधीस अदालतभित्रको विकृति, बिसंगती र भ्रष्टाचार रोक्न आन्दोलन गरिरहेको तर प्रधान न्यायाधीश जवराले पेलेरै जाने खोजेको र अहिलेसम्म बारले शान्तिपूर्ण आन्दोलन गरिरहेकोमा अब यसगरी अघि बढ्न खोजे योभन्दा सशक्त आन्दोलन गर्ने श्रेष्ठले चेतावनी दिए ।
‘हामीले अहिलेसम्म शान्तपूर्ण आन्दोलन गर्दै आएका थियौँ, तर उहाँ कानून ब्यवसायी र न्यायाधीशसँगै पनि बिबाद बढाएरै जाने मनसायमा देखिनुभयाे, उहाँले यसको मूल्य चुकाउनुपर्छ । उहाँ यो ठाउँबाट हट्नैपर्छ । उहाँले निभ्न लागेको बत्ति भन्ने कुरा देखाउँदै हुनुहुन्छ । उहाँ तिमीहरुले भनेर हुँदैन म सिध्याउँछु भनेर अघि बढ्नुभयो भने अरु पनि आन्दोलनमा उत्रन्छन्’ उनले भने ।
आवश्यक भएको खण्डमा कानून ब्यवसायी देशमा राजनीतिक परिवर्तनका लागि लडेका भन्दै अध्यक्ष श्रेष्ठले आवश्यक परे फेरि पनि नेपालका कानून ब्यवसायी तयार रहेको तर अहिले नै त्यो अवस्था नआओस् भन्ने बारको चाहना रहेको बताए ।