एमालेको संस्थापन पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आफ्नो दल सरकारमा हुँदा विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु लोकतान्त्रिक प्रणालीविपरीत भएको औंल्याएका छन् । शुक्रबार (आज) बसेको केन्द्रीय कमिटीको निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने- ‘यस्तो दुनियाँमा कहीँ पनि छैन । नेपालमा छँदै छैन, अरु लोकतान्त्रिक प्रणाली अवलम्बन गरेका मुलुकमा यस्तो भएको थाहा छैन । यो लोकतान्त्रिक प्रणालीविपरीत हुन जान्छ ।’
०५३ सालमा राप्रपामा योसँग सम्बन्धित घटना घटेको स्मरण गर्दै प्रवक्ता ज्ञवालीले भने- ‘राप्रपामा पनि आफ्नै दलका प्रधानमन्त्री बनाउनेबारे रस्साकस्सी चलेको थियो । कोही साथीहरु सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन लागे भने केही साथीहरु लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउन लागेको थिए, तर अरु दललाई प्रधानमन्त्री बनाउनको लागि होइन । एमालेमा यसपाली अचम्मको चलन देखियो । यो असङ्गत भयो, गलत भयो ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि विपक्षी एमालेका २३ जना नेताहरुले हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते पार्टी एकताका लागि केही बुँदाहरु जारी गरेको र पार्टी पूर्ण रुपमा विपक्षी एमालेको मागबमोजिम ०७५ जेठ २ मा फर्किएको दाबी प्रवक्ता ज्ञवालीको छ । भने-‘उहाँहरुले सहमति जनाउनुभएन । पार्टी एकताको लागि पहल निरन्तर रुपमा भइरहेको छ । तर, विश्वास छ पार्टी एकता कायम रहन्छ ।’