काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार बढे एमालेको हालत बनाइदिने चेतावनी दिएका छन्।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन्। ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ उनले भने।
आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको उनको भनाई थियो। प्रचण्डले माओवादीलाई हल्का रुपमा दिने काम नगर्न पनि चेतावनी दिए। प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताएका हुन्।
माओवादीले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि राजधानीमा प्रशिक्षण दिन थालेको छ। स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो। माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन थालेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए।